गैँडाकोट, भदौ १३ । देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै गैँडाकोटस्थित मातृभूमि बाल क्लबका साना नानीबाबुहरूले अनुकरणीय मानवीय भावना प्रस्तुत गरेका छन्।
आफ्नो खाजाका लागि छुट्याइएको रकमबाट बचत गर्दै जम्मा गरेको बाल बचतलाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी देशमा परेको विपद्का बेला राहत पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय क्लबका बालबालिकाले गरेका हुन्।
सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गर्दै बाल क्लबले गरेको यो निर्णयले सहयोगका लागि रकमभन्दा पनि भावना र सेवाभाव ठूलो हुन्छ भन्ने सन्देश दिएको छ। क्लबका अध्यक्ष सचिन कंडेलले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफूहरूले सकेको सहयोग गर्नुपर्ने भन्दै क्लबका सदस्यहरूबाट थप रकमसमेत सहयोगका लागि आह्वान गरेका छन्। बालबालिकाले आफ्नो खाजाको रकम कटौती गरेर बचत गरेको रकम विपद्मा परेका नागरिकको सहयोगका लागि प्रदान गर्ने निर्णय गर्नु आफैंमा प्रशंसनीय कार्य हो। मातृभूमि बाल क्लबको यो अभियानले अन्य बाल क्लब तथा बालबालिकालाई पनि सामाजिक सेवामा जोडिन प्रेरणा दिने अपेक्षा गरिएको छ। सानो हात, ठूलो सहयोग देश दुःखमा पर्दा बालमन पनि सहयोगका लागि अघि बढ्न सक्छ भन्ने उदाहरण मातृभूमि बाल क्लबका नानीबाबुले प्रस्तुत गरेका छन्।







