गैंडाकोट, भदौ १६ । हालै आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले यस वर्षको तीज पर्वमा कुनै पनि प्रकारको तडकभडक र सार्वजनिक कार्यक्रम नगर्न गैंडाकोट नगरपालिकाले नगरवासीसँग कडा आग्रह गरेको छ।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्याएको छ। सिंगो देश नै यस्तो प्राकृतिक विपत्ति र शोकको घडीमा रहेका बेला चाडपर्वका नाममा तडकभडक गर्दा बाढी पीडित तथा प्रभावित परिवारहरूमा अझ गहिरो मानसिक असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको हो।
नगर प्रमुख मदन भक्त अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार, भदौ १५ गते बसेको नगर कार्यपालिका बैठकले सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका स्थानहरूमा गरिने औपचारिक तथा अनौपचारिक कुनै पनि तडकभडकसहितका तीज कार्यक्रमहरू नगर्ने/नगराउने निर्णय गरेको छ।
यस संवेदनशील अवस्थामा चाडपर्वको नाममा हुने फजुल खर्च तथा भड्किलो प्रदर्शनलाई पूर्ण रूपमा निरुत्साहित गर्दै नगरपालिकाले यो अपिललाई सकारात्मक रूपमा लिई पूर्ण पालना गर्न सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध गरेको छ।
साथै, विज्ञप्तिमार्फत नगरपालिकाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरेको छ।







