गैंडाकोट, भाद्र १७ । गैँडाकोटमा रहेको सहमति संस्थाको समन्वय, गैँडाकोट नगरपालिकाको सहकार्य र वन हर्ट वल्र्ड वाइडको सहयोगमा भोटेकोशीमा आएको बाढीपछि सिर्जित विपद् व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
बुधबार बिहान एक कार्यक्रमका बिच १ लाख ७८ हजार ६ सय ८१ रुपियाँ बराबरका अत्यावश्यक स्वास्थ्य सामग्री संस्थाका अध्यक्ष बुद्धिराम कुमालले गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीलाई हस्तान्तरण गर्नुभयो।
विपद्को समयमा शव व्यवस्थापन प्रक्रिया जटिल हुने भएकाले स्थानीय तहलाई सहज होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको संस्थाका अध्यक्ष कुमालले बताउनुभयो। कार्यक्रममा नगरप्रमुख अधिकारीले सामाजिक व्यक्तित्व करुणासागर सुवेदीको क्रियाशीलता र सहमति संस्थाको समन्वयकारी भूमिकाको प्रशंसा गर्नुभयो। बाढीको समयमा गैँडाकोट क्षेत्रबाट संकलित ४३ वटा शव पोखरा र ५५ वटा शव तथा शरीरका अंग प्रादेशिक डण्डा अस्पताल पठाउनुअघि नगर अस्पतालमा नै व्यवस्थापन गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला, निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद आचार्य, वडा अध्यक्षहरू रत्नप्रसाद सापकोटा र गोविन्द सुवेदी, सामाजिक व्यक्तित्व हरिराज गौतम, अस्पताल विकास समितिका उपाध्यक्ष जुना गौतम, नगर अस्पताल प्रमुख पुष्पराज श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी गैँडाकोटका सचिव डोलराज पाण्डे लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहमति संस्थाले यसअघि मंगलबार पनि मध्यविन्दु अस्पताललाई साढे सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउन समन्वय गरेको थियो।







