विपत्तिमा ससाना हातको ठूलो भरोसा: युकेजीका अबोध नानीबाबुहरूले जुटाए प्रधानमन्त्री कोषमा सहयोग

गैंडाकोट, भाद्र १९ । देश अहिले भीषण प्राकृतिक विपद् र कठिन परिस्थितिबाट गुज्रिरहेका बेला गैंडाकोटमा रहेको जनक माध्यमिक विद्यालय (प्रावि स्तर) मा युकेजी (UKG) मा अध्ययनरत स-साना अबोध बालबालिकाहरूले उदाहरणीय र मार्मिक कार्य गरेका छन्।

 

आफूले बुझेको भन्दा ठूलो विपत्तिको यो घडीमा ती अबोध नानीबाबुहरूले आफ्नो खाजा खर्च र अभिभावकबाट पाएको स-सानो रकम बचाएर कुल ६ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन्।

रकमको आकार सानो भए तापनि ती स-साना हातहरूले देखाएको यो ठूलो सोच, मानवीयता र निस्वार्थ भावनाले धेरैको मन छोएको छ। “बालबालिका भनेका देशका भविष्य हुन्” भन्ने उखानलाई यी साना नानीहरूले अझै चरितार्थ गरिदिएका छन्। संकटको समयमा देखाउनुपर्ने सहिष्णुता र परोपकारी भावना उमेरले होइन, मनको विशालताले निर्धारण गर्छ भन्ने ज्वलन्त उदाहरण यी अबोध बालबालिकाले पेस गरेका छन्।

विद्यालय परिवारका अनुसार स-साना बालबालिकाहरूमा सामाजिक उत्तरदायित्व र परोपकारको भावना जागृत गराउने उद्देश्यले गरिएको यो सानो प्रयासले विपदमा परेका नागरिकहरूका लागि ठूलो आत्मबल र आशाको सन्देश प्रवाह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको