चितवन, भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि विद्युत व्यवसायी संघ, चितवनले नगद सहयोग प्रदान गरेको छ। संघले नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा स्थापित राहत कोषमा १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको हो।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजनारायण खरेल, द्वितीय उपाध्यक्ष लेखनाथ सापकोटा र कार्यसमिति सदस्य डोलराम न्यौपानेको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो। विद्युत व्यवसायी संघ, चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले सो सहयोग रकम बराबरको चेक महासंघका कोषाध्यक्ष राजेश गौतमलाई हस्तान्तरण गरेका हुन्।
प्राकृतिक विपत्तिका बेला बाढी प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम प्रदान गरिएको संघले जनाएको छ।







