गैंडाकोट, असोज ७ । गैंडाकोट-२ स्थित गैंडाकोट इङ्लिस स्कूलमा कार्यरत एक शिक्षकले कक्षा ८ मा अध्ययनरत विद्यार्थीमाथि कुटपिट गरेपछि विद्यालयले ती शिक्षकलाई सेवाबाट निष्कासन गरेको छ। गत आश्विन ४ गते शारीरिक सजाय दिने क्रममा विद्यार्थीको कानमा चोट लागेको घटनाप्रति विद्यालय परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै क्षमायाचनासहित उक्त कदम चालेको हो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्राचार्यद्वारा संयुक्त रूपमा जारी विज्ञप्ति एवं ध्यानाकर्षण पत्रमा विद्यार्थीको सुरक्षा, सम्मान, मर्यादा र मानसिक-शारीरिक हित विद्यालयको सर्वोच्च प्राथमिकता रहेको स्पष्ट पारिएको छ। कुनै पनि शिक्षक वा कर्मचारीबाट विद्यार्थीमाथि शारीरिक तथा मानसिक सजाय दिनु विद्यालयको नीति, शिक्षक आचारसंहिता र प्रचलित कानून विपरीत रहेको विद्यालयको भनाइ छ।
सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा विद्यार्थीको कानको जालीमा ८० प्रतिशत क्षति भएको र सुन्ने क्षमता घटेको भनी प्रकाशित समाचारप्रति विद्यालयले गम्भीर ध्यानाकर्षण गराउँदै त्यसको खण्डन गरेको छ। उक्त प्रचार तथ्यहीन, अपूर्ण र भ्रामक रहेको तथा सूचनाको स्रोत भनिएकी विद्यार्थीकी सानीआमा नन्दिता फाल मगरले समेत आफूले त्यस्तो सूचना नदिएको जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ। अभिभावकले विद्यालयमा पेश गरेको अस्पतालको मेडिकल रिपोर्टमा पनि कानमा ८० प्रतिशत क्षति भएको जस्तो गम्भीर अवस्था नदेखिएको विद्यालयले दाबी गरेको छ। हाल पीडित विद्यार्थी सामान्य अवस्थामा फर्किसकेको र नियमित पठनपाठनमा सहभागी भइरहेको विद्यालयले जनाएको छ।








