गैंडाकोट, असोज १०। नेपाली कांग्रेसका युवा नेता दाताराम घिमिरेले प्रतिनिधि सभा क्षेत्र नम्बर १, नवलपुरको क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
लामो समयदेखि पार्टी सङ्गठनमा सक्रिय घिमिरेले विगतका सङ्घर्ष र निष्ठालाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्। सशस्त्र द्वन्द्वकालमा माओवादी पक्षबाट भएको घर तोडफोड तथा बालकुमारी कलेजमा भएको ज्यानलेवा आक्रमण (चक्कु प्रहार) को स्मरण गर्दै उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो राजनीतिक आस्था र निष्ठा नडगमगाएको उल्लेख गरेका छन्। भौतिक उपस्थिति मात्र नभई साइबर स्पेसमा समेत पार्टीको पक्षमा निरन्तर उभिएको दाबी गर्दै घिमिरेले अहिलेसम्म पदलाई गौण मानेर सङ्गठनको सिपाहीका रूपमा काम गरेको बताएका छन्।
पार्टी हाल आन्तरिक र बाह्य दुवै तर्फबाट चुनौती र आक्रमणको घेरामा रहेको औँल्याउँदै उनले नेपाली कांग्रेसको सङ्गठन पुनर्निर्माण गर्न आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसलाई नवयुवाहरूको पहिलो रोजाइ बनाउने र राजनीतिलाई आम नागरिकको जीवनसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्दै घिमिरेले प्रतिनिधि सभा क्षेत्र नम्बर १ का प्रतिनिधि तथा नेता-कार्यकर्ताहरूसँग अमूल्य मत र सहयोगको अपिल गरेका छन्।







