चितवन, असोज १९ ।चितवनको भरतपुरका दुई फरक-फरक स्थानबाट प्रहरीले बिलबिजक नभएका अवैध ६३ थान मोबाइल, एउटा आईप्याड र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भदौ १८ गते साँझ १८:०० बजे भरतपुर महानगरपालिका वडा नं. १० स्थित हाकिमचोकमा रहेको ‘दीपक मोबाइल पसल’मा बिलबिजक बिनाका मोबाइल बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। पसलमा खानतलासी गर्दा बिना बिलबिजकका ५८ थान मोबाइल र १ थान आईप्याड बरामद गरिएको छ। उक्त कार्यमा संलग्न पसल सञ्चालक भरतपुर-१० बस्ने ४१ वर्षीय दीपक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
बरामद मोबाइल तथा आईप्याडको विवरण:
• आईफोन (Apple): ५० थान
• सैमसंग (Samsung): ४ थान
• रेडमी (Redmi): २ थान
• आईप्याड (Apple iPad): १ थान
• भिवो (Vivo): १ थान
यसैगरी, सोही दिन साँझ १९:०० बजे भरतपुर-१ रामनगर क्षेत्रबाट बिना बिलबिजकका मोबाइल ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा रामनगरबाट जुगेडीतर्फ जाँदै गरेका तनहुँ ब्यास-२ बस्ने २८ वर्षीय उमानन्द भुषाललाई नियन्त्रणमा लिएको छ। निजले बोकेको झोलाबाट अवैध ५ थान मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण मोबाइल तथा आईप्याडसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको छ।







