गैँडाकोट, २५ असोज । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका-२ का करिब २०० घरधुरीलाई राहत सामग्री वितरण गरेको छ ।
लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) को ‘EMR29331-325R’ परियोजनाको सहयोगमा असोज ११ गतेको बाढीपीडित नारायणी टोल विकास संस्थाका बासिन्दालाई आज relief सामग्री प्रदान गरिएको हो ।
वितरित सामग्रीमा चामल, नुन, तेल, मसला, सोयाबिन जस्ता खाद्यान्नका साथै त्रिपाल, कालो म्याट, सिरक, डसना, तन्ना र सिरानी रहेका छन् । त्यसैगरी, पानी शुद्धीकरणका लागि पियुष, स्यानिटरी प्याड, फिनेल, बाल्टी र खाना पकाउने तथा खाने भान्साका विभिन्न भाँडाकुँडासमेत उपलब्ध गराइएको डिष्ट्रिक्टका डिजाष्टर एण्ड रिलिफ कोअडिनेटर लायन शिबप्रसाद पण्डितले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले दशैँको पूर्वसन्ध्यामा बाढीप्रभावित नागरिकलाई सहयोग पु¥याएकोमा लायन्सको प्रशंसा गर्नुभयो । विपद्का बेला समुदायप्रति उत्तरदायी भएर गरिएको यो मानवीय सेवाले पीडितलाई ठूलो राहत मिलेको उहाँले बताउनुभयो ।
डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले बाढीपीडित परिवारको दैनिक जीवनयापनमा सहजता ल्याउन खाद्यान्न तथा घरायसी सामग्री वितरण गरिएको बताउनुभयो । यसअघि डिष्ट्रिक्टले असोज २३ गते नवलपुरको लघोई क्षेत्रका २० घरधुरीलाई पनि राहत वितरण गरिसकेको छ । कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२5 आरका निवर्तमान डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतिवडा, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर कमलप्रसाद श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, डिष्ट्रिक्ट पदाधिकारीहरू तथा स्थानीय सङ्घ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।







