गैँडाकोटमा बृहत खुला रक्तदान : ८ महिलासहित ६० जनाले गरे रक्तदान

गैँडाकोट, २५ असोज । स्याङ्जा-नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैँडाकोट नगर समितिको आयोजनामा आइतबार गैँडाकोटमा एक भव्य समारोहका बिच खुला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मानवीय सेवालाई उच्च प्राथमिकता दिँदै सञ्चालन गरिएको उक्त कार्यक्रममा ८ जना महिलासहित कुल ६० जनाले रक्तदान गरेका छन्। सम्पर्क समाज तथा प्रतिष्ठानका अध्यक्ष पदमराज काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख (मेयर) मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले ‘रक्तदान नै जीवनदान’ भएको उल्लेख गर्दै संस्थाको सामाजिक कार्यको उच्च प्रशंसा गर्दै “अस्पतालमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रम आफैँमा उदाहरणीय छ,” मेयर अधिकारीले भने, “विभिन्न भूगोलबाट आएर गैँडाकोटलाई कर्मथलो बनाएका स्याङ्जाबासीहरूले यस क्षेत्रको सामाजिक र विकास निर्माणका गतिविधिमा पुर्‍याएको योगदान सराहनीय छ। नगरपालिकाले यस्ता सामाजिक र मानवीय सेवाका कार्यहरूमा सधैँ सहकार्य र सहयोग गर्नेछ।”

 

कार्यक्रममा विशेष अतिथिका रूपमा देवराज भट्टराई , रामेश्वर पौडेल, प्रकाश सापकोटा, सुभाष चापगाईं, ऋषि कण्डेल, हरिशरण लम्साल र भीमप्रसाद पौडेलको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूको तर्फबाट बोल्दै वक्ताहरूले रक्तदानले एकातिर बिरामीको जीवन जोगाउन मद्दत पुर्‍याउँछ भने अर्कोतिर रक्तदाता स्वयंको स्वास्थ्यका लागि पनि लाभदायक हुने विचार व्यक्त गरेका थिए।

यस्तै, कार्यक्रममा डाक्टर प्रतिक न्यौपाने, डोलराज पाण्डे, जनकलाल तिवारी, सडानन्द लामिछाने, बिपिन पाठक, सन्तोष कुमार वाग्ले, दिसागर पण्डित, लक्ष्मण गिरी लगायत विभिन्न क्षेत्रका महानुभावहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवं संस्थाका अध्यक्ष पदमराज काफ्लेले रक्तदान जस्तो संवेदनशील र सामाजिक कार्यमा उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण रक्तदाताहरू, प्राविधिक टोली, अतिथिहरू तथा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याउने सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। सोही अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने तथा सहयोग गर्ने दाताहरू र सामाजिक व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रम पत्रकार हिमालदेव पङ्गेनीको सहजीकरणमा भएको थियो भने उपस्थित सम्पूर्णलाई समाजका उपाध्यक्ष केशव तिवारीले स्वागत मन्तव्य राखेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको