कावासोती, २६ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित नारायणी नदीको किनारमा भेटिएको अज्ञात वस्तु काट्ने क्रममा विष्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं. ३ ब्रम्हस्थान बस्ने ४९ वर्षका एकासी बोटेले कावासोती नगरपालिका-१७ स्थित अमलटारीघाट नजिक नारायणी किनारमा सो अज्ञात वस्तु फेला पारेका थिए। बाहिरी भागमा डोरीले बेरिएको र भित्री भाग फलामको बेलनाकार (गोलाकार) रहेको उक्त वस्तु बोटेले घर ल्याएका थिए। सोही दिन बिहान ११:२० बजे बोटे र कावासोती-८ थकाली चोक बस्ने २८ वर्षीय कवाडी व्यवसायी (भारतीय नागरिक) सचिन कुमार मिलेर हेक्सा ब्लेडले उक्त वस्तु काट्न खोज्दा अचानक विष्फोट भएको थियो। विष्फोट लगत्तै खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याएको थियो।
अस्पतालमा सामान्य उपचारपछि दुवै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन रिफर गरिएको छ। विष्फोटबाट एकासी बोटेको दुवै हातको हत्केलामा गहिरो चोट लागेको छ भने सचिन कुमारको बायाँ हातको हत्केलामा गहिरो चोट लाग्नुका साथै बायाँ आँखामा क्षति पुगेको छ। दुवै जना बोल्न सक्ने अवस्थामा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ। साथै, प्रहरीले नारायणी किनार वा अन्य कुनै पनि स्थानमा शंकास्पद तथा अज्ञात वस्तु फेला परेमा नछुन, नखेलाउन र तुरुन्त नजिकैको प्रहरी कार्यालयमा खबर गरी सम्भावित दुर्घटनाबाट बच्न सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ।







