गैंडाकोट, असोज २७ । बडादसैँको पावन अवसरसँगै नवलपुरको गैंडाकोट-७, शीतलनगरस्थित श्रीहरि मन्दिर परमानन्द सन्यास आश्रम क्षेत्र यतिबेला धार्मिक भक्तिभाव र सङ्गीतमय वातावरणले गुञ्जायमान बनेको छ।
नवरात्रको शुभारम्भसँगै आश्रममा विशेष पूजा, धार्मिक अनुष्ठान तथा श्रीमद्भागवत महापुराण सञ्चालन भइरहेको छ।
श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्वमा सञ्चालित सो आश्रममा गत असोज २५ गतेदेखि सुरु भएको श्रीमद्भागवत महापुराण कार्तिक ३ गतेसम्म चल्नेछ। महापुराणमा पण्डित चन्द्रमणि कँडेलले सङ्गीतमय शैलीमा कथा वाचन गरिरहनुभएको छ भने पण्डित श्री शशिधर सुवेदीबाट पाठपरायण भइरहेको छ।
घटस्थापनाका दिनदेखि सुरु भएको यो धार्मिक उत्सवमा नवदुर्गा पूजा, भजनकीर्तन, फूलपाती भित्र्याउने अनुष्ठान, महाअष्टमी, कालरात्रि पूजा, महानवमी तथा कन्यापूजाइजस्ता विविध धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्। जस अनुसार असोज ३० गते: साँझ विशेष धार्मिक कार्यक्रम, असोज ३१ गते: पञ्चेबाजा र भजनकीर्तनसहित भव्य रूपमा फूलपाती भित्र्याउने कार्यक्रम, कार्तिक १ गते: साँझ महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक २ गते: सामूहिक भजन तथा विशेष आरती, कार्तिक ३ गते: महानवमीको अवसरमा कन्यापूजा, कार्तिक ४ गते: विजयादशमीका दिन विशेष पूजासहित टीका तथा जमरा वितरण लगायतका कार्यक्रमहरू रहेका छन्।
आश्रमकी कार्यवाहक अध्यक्ष जमुना कँडेलका अनुसार स्थानीय मठमन्दिरका प्रतिनिधि तथा स्थानीय कलाकारहरूको उत्साहजनक सहभागितामा प्रत्येक दिन साँझ ६:३० बजेदेखि राति १० बजेसम्म सङ्गीतमय भजनकीर्तन प्रस्तुत हुँदै आएको छ।
मनले चिताएको पुग्ने पवित्र धामका रूपमा जनविश्वास रहेको यस आश्रमले सम्पूर्ण श्रद्धालु, धर्मप्रेमी तथा भक्तजनहरूलाई धार्मिक अनुष्ठानमा सहभागी भई पूजा-आराधना र भजनकीर्तनको आनन्द लिन हार्दिक निमन्त्रणा र अनुरोध गरेको छ।







