छन्द- शार्दूलविक्रीडित
धर्तीले जब दिन्न अन्न यसमा, के अर्थ माटो पनि ।
पुग्दैनन् जब यात्रु लक्ष्य परमा, के काम बाटो पनि।।
फुल्दैनन् जब फूल यी विपिनमा, स्याहार के गर्नु र !
मिल्दैनन् जब ओत घाम जलमा, त्यो बास के सुन्दर ।१।
–
जल्दैनन् यदि दीप यो तिमिरमा,के सार आगो पनि ।
बग्दैनन् नद यी, धरा जब सुखा , के काम पानी अनि।।
छाया दिन्न भने छ सार कुन पो! त्यो बोट हाँगाहरू।
माया मिल्छ सदा र प्रेम ममता, छन् पूज्य आमाहरू।२।
–
बाबाको दुखमा सुपुत्र जनले, गर्दैन केही भने।
आमाका मन मर्म मात्र जसले, ठान्दैन आफ्नै भने।।
नौ मैन्हा तक भार गर्भ कसले,राख्यो सम्हालिकन।
प्राणी छन् जसमा विवेक मधु झैँ, त्यै फूल हो जीवन।३
–
व्यर्थै हो तन स्नानकर्म जलमा, फाल्दैन तृष्णा भने।
पूजा मन्दिर को छ अर्थ कुन पो! त्याग्दैन ईर्ष्या भने ।।
ज्ञानी मानिस छन् विमत्सर सदा, ती स्वर्ण हुन् लोकमा।
हेरौँ यी लटरम्म बोट लहरा, सेवा दिने भोकमा।४।
–
सोच्नै पर्छ सदैव मानिस यहाँ, यो लोकको मङ्गल।
यौटा बास न हो बितेर पल यी, छोड्नै छ यो जङ्गल।।
हाम्रा भाव र भावना सकलमा, मान्छे बनौँ सेवक!
व्यर्थै हो सब यो विलाप मनका, छोडौँ ; बनौँ प्रेरक !!५
–
होमनाथ घिमिरे, भरतपुर चितवन