
काठमाडौं । कांग्रेस र एमाले मिलेर सरकार बनाएको ५० दिन पुग्न लाग्दासम्म न्युनतम साझा कार्यक्रम बन्न सकेको छैन । रोचक के छ भने यिनै दुई दलबाट प्रधानमन्त्री केपी ओलीको टिममा गएका मन्त्रीहरु सय दिन पुग्ने बेला कस्तो प्रगति विवरण बुझाउने भनी कार्यसूची बनाउन आन्तरिक तयारी गर्दैछन् ।
१७ असारमा सातबुँदे सहमति गर्दा कांग्रेस एमालेले संविधान संशोधनसम्मका ठूला वाचा गरेका थिए, जबकि दुई अलग विचार भएका पार्टी मिलेर गठबन्धन बनाउँदा अनिवार्य मानिने न्यूनतम साझा कार्यक्रम ४८ दिनसम्म पनि नबन्नुले ढिलासुस्तीको उदाहरण दिएको छ ।
कांग्रेस एमालेबीच भएको उक्त सात बुँदे सहमतिको पाँचौं बुँदामा ‘न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन’ गर्ने उल्लेख थियो ।